काठमाडौँ – ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयर पदका लागि नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार नकुल थापा यति खेर घर दैलो कार्यक्रममा व्यस्त छन्। नगरबासीको सहयोगमा हातमालो गर्दै सामाजिक संजाल देखि घर दैलो कार्यक्रम र भेटघाटको कार्यमा तीव्र गतिले अघि बढिरहेका छन्।
वडा नम्बर सातको वडाध्यक्ष हुँदा गरेको काम र त्यसको प्रभावले दश वटै वडाका साथीहरु र मतदाताहरुमा सकारात्मक प्रभाव परेको उनले सुनौलोपानासँगको कुराकानीमा बताए।
उनी मेयर पदमा उठ्नुको उद्देश्य नगरपालिकालाई समृद्ध पार्नु रहेको बताउँछन। पहिलो प्राथमिकतामा स्वस्थ खानेपानी राखेको बताउंदै उनले भने, ‘मेरो पहिलो काम भनेको खानेपानीको अभाव झेलिरहेको नगरबासीलाई खानेपानी उपलब्ध गराउनु हो। नगरपालिकाको सबै काम आफ्नै भवनबाट सञ्चालन हुनुपर्छ । यसका लागि महालक्ष्मी नगरको भवन निर्माण सम्पन्न हुन जरुरी छ ।’
शिक्षा, स्वास्थ्य कृषिको आधुनिकीकरण गर्ने प्रतिबद्दता पनि आफ्नो रहेको उनको भनाइ छ। समग्र नगरको हित हुने योजना बनाएर अघि बढ्न सबै पार्टीका धार्मिक क्षेत्रहरुको विकास, पर्यटनका क्षेत्रहरुको विकास, खेलकुदको स्तरोन्नति जस्ता विषयमा काम गर्ने योजना रहेको उनले बताए।