पौष ३०,२०८२ बुधवार- नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा प्रधानमन्त्रको नयाँ उम्मेद्वार तोकेर जाने मात्रै आफूहरुको माग रहेको बताएका छन ।
बुधवार नेपाली काँग्रेसको विशेष महाधिवेशमा सम्वोधन गर्दै उनले आफूलाई प्रधानमन्त्री पद नचाहिएको पनि बताए। उहाँले विशेष महाधिवेशनपछि काँग्रेस सुधारिएर आएको म्यासेज जनतामा दिनुपर्ने भन्ने आफूहरुको मागलाई वेवस्ता गरिएको बताए । उनले सभापति शेरबहादुर देउवा बाहेक अरु जसलाई प्रधानमन्त्रीको उम्मेद्वार तोक्दा पनि आफूहरुलाई मान्य हुने बताए। उनले आफूहरु अरु सबै विकल्पमा खुला भएको भएपनि विभिन्न किसिमका हल्ला फैलाईएको आरोप लगाए।
उनले भने, ‘नेपाली काँग्रेस पार्टीले यो चुनावमा प्रधानमन्त्रीको उम्मेद्वार गगन थापालाई भनेको होइन, जसलाई बनाउने हो बनाउँनुस्, तर नेपाली काँग्रेसले अब चुनावमा जाँदैगर्दा यति त भनेर जाउँ हाम्रो प्रधानमन्त्रीको उम्मेद्वार श्री शेरबहादुर देउवा होइन भनेर त जाँउ । अरु जसलाई बनाएपनि हुन्छ । त्यो अपमान गरेर भनेको होइन । हाम्रो दाई हो, नेता हो अपमान गरेर भनेको होइन । अहिले पनि होईन, मनमा केही द्वेश राखेर भनेको होइन । तर देश र जनताको अगाडी आज भन्नुपर्ने बाध्यता छ । यसकारणले गर्दा कहिले सिग्नेचरको कुरा आएको छ, कहिले के को कुरा आएको छ । यी केही पनि होइन । केवल यति मात्रै कुरा हो की हामी अब विशेष महाधिवेशन पछाडी हामी नेपाली कांग्रेस बदलिएर आयो भन्न पाउने कि नपाउने ? प्रधानमन्त्री कसलाई बनाउन छ, बनाउनुस्, यही विशेष महाधिवेशनको हलबाट अन्तरिम सभापति कसरलाई बनाउनुहुन्छ बनाउनुस् । हामी सबै विकल्पको लागि खुला । अझ हामीले आज त के भन्यौँ भने सामुहिक नेतृत्व छान्नुपर्छ भने त्यो पनि छानौँ ।’
उनले सहमतिको नाममा आफूहरुलाई अल्मल्याउने काम मात्रै भएको बताए । विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका सार्न लगाएर सहमतिको नाममा समय बिताउने मात्रै काम गरिएको उनको गुनासो छ।













