काठमाडौं – जनस्तरबाट चर्को आलोचना भएपछि सरकारले धरौटी नलिइ कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचार गर्न निर्देशन दिएको छ। सरकारी अस्पतालहरुले संक्रमितको उपचारका लागि चर्को धरौटी शुल्क तोकेपछि सरकारले यस्तो निर्देशन दिएको हो।
कोरोना भाइरस संक्रमितको उपचारका लागि धरौटी माग्ने अस्पतालहरुलाई सरकारले स्पष्टीकरण पनि सोधेको छ। लक्षण देखिएर बिरामी परेका संक्रमितको उपचारमा भर्ना गर्नुअघि धमाधम धरौटी माग्न थालेपछि ती अस्पतालहरुलाई स्पष्टीकरण सोधिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आइतवार भएको कोभिड-१९ को मिडिया ब्रिफिङका क्रममा यस्तो बताएका हुन्। गौतमले कोभिड संक्रमितलाई अस्पताल भर्ना गर्दा कुनै किसिमको धरौटी नलिन पनि सरकारी अस्पतालहरुलाई निर्देशन दिएका छन्।
‘सरकारले सबै सरकारी अस्पतालहरुलाई धरौटी नलिइ कोभिड-१९ का बिरामीहरुको उपचार गर्नु भनेको छ’, उनले भने, ‘कोभिडका बिरामीको निशुल्क उपचारमा सरकार दृढ छ। सक्नेसँग शुल्क लिने हो, तर सबैसँग शुल्क लिने भनेको होइन।’
गौतमले कुन कुन अस्पतालाई स्पष्टीकरण सोधिएको केही बताएनन्। तर उनले भने, ‘धरौटी लिने सबै सरकारी अस्पतालसँग स्पष्टीकरण सोधिएको छ’, उनले अगाडि भने, ‘अब उप्रान्त कोभिड संक्रमितलाई धरौटी नलिइ उपचारका लागि भर्ना गर्न सरकारले भनिसकेको छ।’
सरकारले गरिब, असहाय तथा विपन्नको मात्रै उपचार निशुल्क गर्ने जनाउँदै यसअघि पैसा हुनेले खर्च गरेर उपचारमा जानु पर्ने बताएको थियो। त्यसपछि काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, धुलिखेल अस्पतालसहितले महँगो धरौटी शुल्क तोकेका थिए।